काठमाडौं-सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेको बुझिएको छ ।

प्रमुख दलका प्रमुख सचेतक, कार्य व्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा बारम्बार सभापति चयन गर्न समय सीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा डाकेका हुन् ।