काठमाडौं - लेखक तथा प्राध्यापक डिपी भण्डारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

५ वर्षदेखि उनी ‘पार्किन्सन’को समस्याबाट थलिएका थिए । शनिबार बिहान ११ बजेर ३० मिनेट जाँदा धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनायो ।

पछिल्लो एक सातादेखि भण्डारीलाई अस्पताल लगिएको थियो । भण्डारीका दुई छोरा डा। शरद र शैलेस भण्डारी छन् । अस्पतालले निधन भएको पुष्टि गरेपछि भण्डारीको शव दाहसंस्कारका लागि पशुपति आर्यघाटमा लगिएको कवि तथा लेखक हेमन्त विवशले अन्‍नपूर्ण अनलाईनलाई जानकारी दिए ।

डोटीको निरोली गाउँमा जन्मिएका भण्डारी पछिल्लो समय पुरानो बानेश्वरस्थित आफ्नै निवासमा रहँदैआएका थिए । भण्डारीकी पत्नी श्री भण्डारीको भने ५ वर्षअघि नै निधन भइसकेको हो ।लामो समय अंग्रेजी विषयको प्राध्यापन र लेखनमा सक्रिय रहेका भण्डारीका ‘मृगस्थली’, ‘रोटी र फूल’, ‘त्यो धर्ती त्यो आकाश’ ‘निरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्ध संग्रह बजारमा छन् ।