जनवादी गायक जेबी टुहुरेको निधन
काठमाडौं - जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधन धएको छ । ७८ वर्षिय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक स्रोतले बतायो ।
गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको थियो ।
संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।
उनले डेढ सयभन्दा बढी गीत गाएका छन् । टुहुरेका सबैभन्दा चर्चित गीत ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगायत छन् ।
फेसबुक पेज Like गर्नुहोस