काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले जनताको जित भएको बताएका छन् ।

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेसँगै प्रतिक्रिया दिँदै नेपालले अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका हुन् ।  संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको बताएका छन् । अदालतले संवैधानिक अपेक्षा र जनभावनाअनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको उनको भनाई छ । 

उनले भनेका छन्, ' संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।'