घरेलु मैदानमै म्यान्चेस्टर युनाइटेडले व्यहोर्यो आधा दर्जन गोल
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटनहाम हट्स्पर विजयी भएको छ । टोटनहामले म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा ६(१ को लज्जास्पद हार चखाएको हो ।
यद्यपि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको सुरुवाती आधा मिनेटमै युनाइटेडले पेनाल्टी पाएको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर चौथो मिनेटमा नै एन्डोम्बेलेले बराबरी गोल गरे भने सातौं मिनेटमा सन ह्युङ् मिनले गोल गरेपछि युनाइटेडको अग्रता ५ मिनेट मात्र टिक्न सक्यो ।
खेलको २८ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । कर्नरको तयारी गर्ने क्रममा मार्सियलले लामेलामाथि हात उठाएपछि रेफ्रीले सोझै उनलाई रातो कार्ड दिए । त्यसको दुई मिनेटमा नै टोटेनहामले अग्रता दोब्बर पार्यो । ह्यारी केनले गोल गर्दै ३-१ को अवस्थामा पुर्याए भने ३७ औं मिनेटमा पुनः सनले गोल गरेपछि पहिलो हाफ ४-१ मा सकिएको थियो ।
दोस्रो हाफमा टोटनहामले थप दुई गोल गर्यो । ५१ औं मिनेटमा सर्जे औरीयरले गोल गर्दै अग्रता फराकिलो बनाए । ७९ औं मिनेटमा टोटेनहमले पेनाल्टीमा गोल गर्ने अवसर पायो । पल पोग्बाले बेन डेभिसलाई लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्दै टोटनहामलाई ६-१ को जीत दिलाए ।
जीतसँगै टोटनहाम ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ३ खेलबाट ३ अंक जोडेको युनाइटेड भने १६ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस