काठमाडौं - पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

सोमबार दिउँसो भएको दुर्घटनामा पोखरा-२८, कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृत्यु भएको हो । ल्यान्ड गर्ने क्रममा गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै, प्याराग्लाइडिङ दुर्घटनामा यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । उनको दाहिने हात र टाउकोमा चोट लागेको अवस्थामा उद्धार गरी मेट्रोसिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।