काठमाडौं - चीनमा रहेका नेपालीहरुले कोरोना भाइरसले संक्रमण गर्न नपाउँदै उद्दार होस् भन्ने चाहना राखेका छन् । चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठनले पनि संकटकाल घोषणा गरेको छ । भाइरसका कारण चीनमा मात्र २ सय १३ जनाको ज्यान गइसकेको छ ।

चीनमा रहेका नेपाली विद्यार्थीहरुले ‘के सरकारले हामीलाई संक्रमण भएपछि मात्रै वा हामी मरेपछि मात्रै लास लैजाने हो ?’ भन्दै विच्याट समूहमा लेखेको समाचारमा उल्लेख छ ।

आफूहरु अहिले बन्दी जीवन बिताइरहेको र भाइरसले कताबाट छुने हो भन्ने तनावमा रहेको उनीहरुले समूहमा लेखेका छन् ।

नयाँ वर्षका लागि जोहो गरिएको खाना पनि अब एक दुई दिन मात्रै बाँकी रहेको उनीहरको भनाइ छ । संगै रहेका अन्य देशका विद्यार्थी धमाधम आफ्नो देश फर्किएपछि आफूहरुले एक्लो महशुस गरिरहेको विद्यार्थीहरुले बताएका छन् । 

आजको अन्नपूर्णबाट