काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिष्ट पार्टी नयाँ उचाई र शान र गौरवका साथ अगाडि बढ्छ। यसको नेतृत्व र पहल एमालेले गर्नेछ,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

यस्तै, प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको आरोप पनि लगाएका छन् । ‘हामी जिम्मेवार र अनुशासित भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौँ। तर, यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुको आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण पार्टी पुनः विभाजित भयो।’ ती नेताले जानकारी दिए ।  

ओलीले आफू लचिलो भएर आउँदा पनि अर्को पक्षमा पार्टीलाई एक बनाउन कुनै पहल, महसुस र अनुभूति नदेखिएको पनि बैठकमा बताएका छन् । दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार हुँदा पनि पार्टी एकताबद्ध बनाउन कुनै पहल नभएको उनको भनाई थियो।