काठमाडौं - पर्साको वीरगन्ज छपकैयाकी मुस्कान खातुन १५ वर्षको उमेरमा गत वर्ष भदौ २० गते स्कुल जाँदै गर्दा तेजाब (एसिड) आक्रमणमा परेकी थिइन्। तर, तत्काल मुस्कानले पत्तो पाइनन् कि को किन के फालेर गयो ? अब के हुन्छ ? एसिडले जलेका अंगको उपचार गर्न मुस्कान पाँच महिनाभन्दा बढी अस्पताल बस्नुपर्‍यो।

उनै मुस्कानलाई शुक्रबार बिहान अमेरिकी दूतावासबाट फोन आयो। खबर थियो– मुस्कानले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) पुरस्कार प्राप्त गरिन्। अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकेनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ मा भर्चुअल कार्यक्रम गरी उक्त पुरस्कार प्रदान गर्नेछन्।

बुवाको मोबाइलमा आएको उक्त खबरले मुस्कान निःशब्द बनिन्। बुवाआमाले कसेर अँगालो हाले। खुसीको आँसु बर्सियो। तीनै जना धेरै बेर रोए। केही दिनअघि आफू मनोनयनमा परेको थाहा पाए पनि अवार्ड नै पाउने विश्वास गरेकी रहिनछन् मुस्कानले। ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरका रूपमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाब सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिन्, जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे’, दूतावासले प्रेस विज्ञप्तिमा लेखेको छ, ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण थियो। नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ।’

यो पुरस्कार हरेक वर्ष संसारभर उत्कृष्ट काम गरेका महिलाको सम्मानस्वरूप प्रदान गरिँदै आएको छ। 

अन्नपूर्ण पोष्ट दैनिकबाट