काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीले नेपाली कांग्रेसका नेता नरोत्तम वैद्यको भनाईप्रति समर्थन जनाएका छन्।

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएका थिए । 

वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए। उक्त अभिव्यक्तिको चौतर्फि आलोचना भैरहेको छ । 

तर, दाङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले सो अभिव्यक्तिको लागि वैद्यलाई धन्यवादसमेत दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद चौधरीले प्रदेश सांसद वैद्यको अभिब्यक्ति सत्य रहेको उल्लेखसमेत गरेका छन्। 

‘माननीय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो । नेपाली मनोबिज्ञानलाई बाग्मति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’ चौधरीले भने । 

वैद्यले माफि माँग्नु नपर्ने चौधरीको भनाई छ । ‘वहाँले न माफि माँग्नु पर्दछ न त पश्चाताप ! बरू हामि शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौ । अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागौ र आगमि दिनमा गल्ति नगर्ने बिषमा प्रतिबद्दता जाहेर गरौ ।’

नेता चौधरीले जनताको मनोविज्ञान बुझेर साशकहरू सोही अनुरुप ब्यवहार गर्नुपर्ने तथा आचारण देखाउन जरूरी रहेको बताएका छन्।