काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन्  ।

माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै केही गरौँ भन्ने युवालाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गरे ।

उनले जारी अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको जानकारी दिँदै अब छिट्टै प्रतिस्थापन विधेयक ल्याई यही हिउँदै अधिवेशनबाट कानुन निर्माण गरी विधि र प्रक्रियाका आधारमा देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेयो । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश जारी भएका थिए ।