काठमाडौं - काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोभिड(१९ पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

उनीहरुको पीसीआर प्रविधिबाट परीक्षणका लागि स्वाब पठाइएको पनि बताइएको छ ।उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो । पहिले सो परिवार गुपचुप रुपमा बसेको र छिमेकीले प्रहरीलाई सूचना दिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको बताइएको छ ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो भवनलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घरभित्रै रहन आग्रह गरेको बताइएको छ ।