काठमाडौं - राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

सांसद गङ्गाकुमारी बेल्बासेले अछामको ढकारी गाउँपालिकामा सरस्वती खड्का र ईश्वरी खड्काको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको बताइन् ।

सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे । सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराए ।