अर्थमन्त्री महतले प्रतिनिधिसभामा बजेट पारितको लागि प्रस्ताव पेश गर्दै
काठमाडौं-अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभाको बैठकमा बजेट पारितको लागि आज प्रस्ताव पेश गर्दै छन् ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
आजको कार्यसूचीमा बजेट पास गर्ने भएपछि कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट निर्णयार्थ प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन भन्दै निर्देशन दिइएको छ ।
संसद बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताइरहेका छन् । नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, नेकपा एस र जनमत पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने अभिव्यक्ति दिँदै आएका छन् । सत्ता गठबन्धनमा सहभागी दल जसपा, एस र जनमत पार्टीले ह्वीप जारी गरेका छैनन् ।
यसैगरी बजेट पास गर्न संसदमा पेश हुन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस