विनियोजन विधेयक बहुमतले स्वीकृत गर्दै संसद् बैठक स्थगित
काठमाडौं - सघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजकाे बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
आजको बैठकमा सभामुख सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । तर, एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेकाे थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले भाग लिएका थिए । छलफलमा उठेका विषयमा अर्थमन्त्री शर्माले जवाफ दिएपछि उक्त विधेयकलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेर बहुमतले स्वीकृत गरेको घोषणासमेत गरे ।
बैठकले सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित पनि गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस