काठमाडौं - औपचारिक रुपमा काठमाडौं उपत्यकामा बसोबास गर्ने कति व्यक्तिको पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण गरियो भन्ने तथ्यांक कुनै पनि निकायसँग दुरुस्त अवस्थामा नरहेको भेटिएको छ ।

लकडाउनको ५२ औं दिन बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब १६ सय ५० जनाको पीसीआर विधिबाट परीक्षण भएको जानकारी आफूलाई दिइएको बताए ।

‘बिहान प्रेजेन्टेसन हुँदा दिइएको तथ्यांक यही हो,’ उनले भने, ‘बाँकी त मलाई पनि जानकारी छैन । इपिडिमियोलोजिले नै दिएको तथ्यांक हो । यति नै होला ।’

विज्ञहरुले सुरुको दिनदेखि नै धेरैभन्दा धेरै परिक्षण हुनुपर्ने बताउँदै आए पनि सबैभन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौं उपत्यकामै कतिजनाको परीक्षण भयो भन्ने यकिन तथ्यांक उपलब्ध छैन । मन्त्रालय, विभाग, महाशाखा तथा प्रदेशको सामाजिक विकास मन्त्रालयसँग भएका तथ्यांकहरु नै एकआपसमा मेल खाँदैनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालास्थित उच्च स्रोतका अनुसार त्यहाँ परीक्षणका लागि आउने नमुनाको स्थायी ठेगाना मात्रै इन्ट्री गर्ने गरिएको छ । त्यसले गर्दा यहाँ गरिएका परीक्षणहरु वास्तवमा कुन जिल्लाका व्यक्तिको हो भनेर तथ्यांक निकाल्न कठिन छ ।

‘काठमाडौं नै स्थायी ठेगाना लेखेकाहरु कतिजनाको परीक्षण भयो भनेर त सिस्टममा हेर्न मिल्छ । तर, त्योमात्रै काठमाडौंमा बसोबास गर्नेहरुको यकिन संख्या त होइन नि,’ स्रोतले भन्यो, ‘कतिपय काठमाडौंमै बसोबास गर्नेले स्थायी ठेगानामा बाहिर जिल्ला लेखाउने गर्छन् ।’

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार भने काठमाडौं उपत्यकामा बुधबारसम्ममा ११ सय ८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । मन्त्रालयका सूचना अधिकारी एवं चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईले यो तथ्यांक भनेको हरेक दिन उपत्यकाका तीन जिल्लाका स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेर परीक्षण गरेको रिपोर्ट मात्र भएको बताए ।

‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वाग्मती प्रदेशमा रहेकोले त्यहाँ गरिने परीक्षणको तथ्यांक पनि मागेका छौं । तर, उहाँहरु केन्द्र मातहत भएकाले हामीलाई उपलब्ध गराउनुभएको छैन,’ उनले भने, ‘अहिले जिल्ला स्वास्थ्य कार्यालयका अलावा प्रयोगशालाकै टोली गएर पनि विभिन्न स्थानबाट नमुना संकलन गर्छ । त्यो हामीलाई थाहै हुन्न ।’

स्वास्थ्य मन्त्रालयमा रहेको स्रोतका अनुसार पनि काठमाडौं उपत्यकामा कतिजनाको कुल परीक्षण भयो भनेर थाह पाउने एकमात्रै उपाय भनेको प्रयोगशालामा कहाँबाट कति नमुना आए भनेर हरेक दिनको तथ्यांक हेर्नुमात्रै हो । ‘प्रयोगशालाले स्थायी ठेगाना मात्रै राख्छ भने हरेक दिन शुक्रराज अस्पतालबाट कतिवटा नमुना आयो, अन्य अस्पतालहरुबाट कतिवटा आयो भनेर खोज्नुपर्ने भयो,’ स्रोतले भन्यो ।

जोनहप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रुपमा कार्यरत डा. दिनेश न्यौपानेको विचारमा यस्तो महामारीको अवस्थामा यति संवेदनशील तथ्यांक खोज्नका लागि पनि धेरै सकस हुनु लज्जाको विषय हो । ‘यदि काठमाडौं उपत्यकामा बसोबास गर्ने कतिजनाको परीक्षण भयो भन्ने यकिन तथ्यांक नै छैन भने अरु के कुरा गर्नु ?’ उनले भने, ‘यसको मतलब त कागजी काम धेरै भयो तर वास्तविकता अर्कै रहेछ भन्ने देखियो नि !’

कोरोना संक्रमणबारे जानकार एक चिकित्सकका अनुसार सरकारी संयन्त्रले सानोसानो कुरामा गल्ती गर्दा वा चुकेकै कारणले नेपालमा लकडाउनको ५२ दिन हुँदा स्थिति झन् गम्भीर बनेको हो । ‘कतिजनाको परीक्षण भयो भनेर त तथ्यांक दिन नसक्नेले अरु के गर्न सक्छन् होला खै ?’ उनले भने, ‘यो तथ्यांक भोलीको दिनमा यहाँ कुन गतिमा भाइरस फैलिएको छ भन्ने विश्लेषण गर्न पनि आवश्यक हुन्छ । अब गतिलो तथ्यांक नै छैन भने त के भन्नु ?’

काठमाडौंमा सबैभन्दा धेरै स्वाब संकलन हुने शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार बुधबार सबैभन्दा धेरै ३ सयवटा नमुना संकलन गरिएको थियो । यस्तै बिहीबार २ सय ९४ जनाको स्वाब संकलन गरिएको थियो । ‘बिहीबार परीक्षण गरिदिनुपर्‍यो भनेर ६ सय १० जना आएका थिए । त्यसमध्ये २ सय ९४ जनाको स्वाब लियौं,’ उनले भने, ‘विगत एक सातादेखि परीक्षण गराउन आउनेको संख्या पनि बढेको छ र संकलन गर्ने दर पनि बढेको छ ।’ उनका अनुसार दिनमा १०, २० हुँदै अहिले स्वाब संकलनको संख्या ३ सय सम्म पुगेको छ । उनले हालसम्म कतिजनाको स्वाब संकलन गरियो भनेर हेर्न हिसाब नै गर्नुपर्ने बताए ।

‘अहिले तपाईंले भन्ने बित्तिकै त याद आएन । तर हिसाब गर्‍यो भने यहाँबाट कतिजनाको नमुना लिइयो त थाह हुन्छ,’ उनले भने, ‘तर, यहाँ आउने सबै काठमाडौंवासी नै हुन् भन्ने त यकिन हुन्न । प्रयोगशालाले नै राख्नुपर्ने हो त ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार माघ १४ गतेदेखि सुरु भएको पीसीआर परीक्षण हालसम्म देशभरमा गरेर कुल २२ हजार ६ सय ६४ वटा भएको छ । बिहीबार मात्रै १ हजार ३ सय ६३ वटा परीक्षण भएका थिए ।

बिहीबार नै काठमाडौंको कालीमाटी तरकारी बजारमा व्यवसाय गर्ने ३ सय ३४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यस्तै संसद सचिवालयका सूचना अधिकारीका अनुसार बजेट अधिवेशनका लागि भनेरै सबै सांसद, कर्मचारी, सुरक्षाकर्मी तथा केही पत्रकार गरेर लगभग ८ सय जना जतिको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै देशभर गरेर आरडीटी किटबाट गरिने परीक्षणको संख्या जेठ १ गतेको विवरण अनुसार ६२ हजार ३ सय २७ पुगेको छ । 

कान्तिपुर दैनिकबाट