काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूको सजाय जिल्ला अदालत काठमाडौंले निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार विभिन्न कसुरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो।
अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई एकीकृत कसुरतर्फ जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको छ।
रायमाझीलाई ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष, तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैदका साथै सोही कसुरमा थप ६ महिना कैद तोकिए पनि एकीकृत सजायअनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना भोग्नुपर्नेछ।
पाण्डेलाई पनि ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै सोहीअनुसार एकीकृत सजाय सुनाइएको अदालतले जनाएको छ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ।
उनीमाथि ठगीमा १ वर्ष, संगठित अपराधमा १ वर्ष ६ महिना, तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैदका साथै थप ३ महिना कैद सजाय निर्धारण गरिए पनि एकीकृत सजायका आधारमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना कायम गरिएको हो।
प्रकरणका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई पनि जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको हो।
यस्तै, सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्दकुमार चौधरीलाई पनि समान ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि ७५ वर्षभन्दा माथिको उमेर भएकाले कानुनी व्यवस्थाअनुसार सजायमा छुट दिइएको छ । अब उनले ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भोग्नुपर्नेछ ।
त्यस्तै, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यसअघि असार २३ गते जिल्ला अदालत काठमाडौंले यस मुद्दाका ३१ प्रतिवादीमध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो । सोही फैसलाको आधारमा मंगलबार दोषी ठहर भएका प्रतिवादीहरूको अन्तिम सजाय निर्धारण गरिएको हो।

.gif)



