काठमाडौं - सशस्त्र प्रहरी बलले चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकाहरूमा खटाएको छ ।

भारतीय सीमानाकामा खटिने एसएसपीहरुमा दिगविजय सुवेदी, माधवप्रसाद पौडेल, रविनराज कर्णजीत र गंगाराम श्रेष्ठ रहेका छन् ।जेनजी आन्दोलनपछि सीमानाकाबाट राजस्व चुहावट हुन थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यसलाई गम्भीरतापूर्वक लिँदै

राजस्व संकलनमा अभिवृद्धि गर्न, सीमा सुरक्षा, सीमा अपराध, राजस्व चुहावट नियन्त्रण, अवैध चोरी निकासीलगायत अन्य गतिविधिको स्थलगत अनुगमनसहित सीमा अनुगमन, तोकिएका प्रस्तावित सीमा सुरक्षा गुल्महरूको कामकारबाहीको केन्द्रीय अनुगमनका लागि एसएसपीहरु खटाउन लागेको हो ।

सुवेदीलाई झापाको काँकडभिट्टा र मोरङको रानीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ । यसैगरी, पौडेललाई नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र कर्णजीतलाई रुपन्देहीको डण्डा, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाहस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ । यस्तै, श्रेष्ठलाई कैलालाीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ ।

साथै उनीहरुलाई जिम्मेवारी तोकिएका ती कार्यालयहरू आफै उपस्थित भई सम्बन्धित बाहिनी मुख्यालयहरूसँग आवश्यक समन्वय गरी सीमा इलाकाको विस्तृत अध्ययन गरी सशस्त्र प्रहरी बल प्रधान कार्यालय दैनिक रूपमा रिपोर्टिङ र साप्ताहिक रूपमा प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी पनि दिइएको छ ।

उनीहरुलाई दिइएका टास्कहरु

१. राजस्व चोरी निकासी पैठारी सम्बन्धी गैरकानुनी कार्य रोक्न लगाउने र संलग्न देखिएमा तत्काल कारबाहीको दायरामा ल्याउने

२.  लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदीलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई तत्काल प्रहरी एवं सम्बन्धित निकायमा बुझाउन लगाउने ।

३. भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।

४. तोकिएको जिम्मेवारी इलाकामा खटिएका स.प्र.क. हरूको पिरमर्का तथा गुनासो सुनुवाइ गरी तत्काल सम्बोधन गर्ने ।