बारा - बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सार्वजनिक गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेका छन् ।
सोमबार बिहान अनुसन्धानका क्रममा सोधिएका कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन गर्दा बारा प्रहरीले आफ्नै मातहतका प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो।
बारा जिल्लामै दरबन्दी भएका विकले उक्त भिडियो आफ्ना साथीलाई म्यासेन्जरमा पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा भाइरल भएको अनुसन्धानबाट खुलेको छ।
गोपनीयताको अधिकार हनन गरेको कसुरमा थप अनुसन्धानका लागि विकलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरी घरबाटै बेपत्ता भएकी थिइन्।
लामो समयसम्म छोरी नभेटिएपछि उनकी आमा मानमती चौधरीले सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन्। खोजीका क्रममा तीन दिनपछि बालिकाको शव फेला परेको थियो।
घटनाको अनुसन्धानका क्रममा १६ वर्षीय किशोरले बालिकाको बलात्कारपछि हत्या गरेको खुलेको थियो ।
बलात्कार र हत्या आरोपमा पक्राउ परेका सोही किशोरले घटनाबारे बयान दिएको भिडियो एकाएक सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको थियो।
उक्त विषयमा प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले समेत चासो देखाउँदै जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि पनि छानबिन थालेको छ।
यस्तै भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)


