काठमाडौं - प्रदेश ५ का कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘हटस्पट’ मानिएका जिल्लामै संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा बेवास्ता गरिएपछि समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । जेठ पहिलो सातादेखि संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नेबाहेक काम भएको छैन । पछिल्लो समय संक्रमितको ट्रेसिङ गर्नै छाडिएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको मात्रै स्वाब परीक्षण भइरहेको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वाब परीक्षणको रिपोर्ट आउन दुई साताभन्दा बढी कुर्नुपर्छ । प्रतिष्ठानमा अहिले ५ हजारभन्दा बढी स्वाबका नमुनाको थुप्रो लागे पनि दैनिक बढीमा २ सय नमुनाको मात्रै परीक्षण भइरहेको छ । परीक्षणको प्रक्रियामा रहेका नमुनाको रिपोर्ट आउन नै २५ दिनभन्दा बढी लाग्ने अवस्था छ । यस्तोमा स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थित गर्न कठिनाइ भएको छ । जसका कारण स्थानीय तह क्वारेन्टाइनमा बसेकालाई घर पठाउने हतारोमा छन् । ट्रेसिङलगायत जोखिम रोकथाममा चासो छैन ।

राजपुर गाउँपालिकामा एक साताअघि घर पठाइएका ३ जनामा संक्रमण पुष्टि भएपछि दोस्रो दिन पुनः क्वारेन्टाइन फर्काइयो । भारतबाट आएर राजपुरका चारवटा क्वारेन्टाइनमा रहेका १ सय ५४ जनालाई परीक्षण रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूलाई खोजेर फिर्ता त ल्याइयो तर संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ हुन सकेन । क्वारेन्टाइनमा बसेकाहरू घर जान हतारिँदा र घर फर्किसकेकाहरू पुनः फर्किन नमान्दा समस्या भइरहेको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले बताए । ‘भारतबाट आएर लामो समय क्वारेन्टाइनमा बसेका सबै आत्तिएका थिए । व्यवस्थापनमा पनि समस्या भइरहेको थियो,’ उनले भने, ‘प्रतिष्ठानबाट आएको पहिलो पत्रमा तीन जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ भएको जस्तो बुझियो । त्यसपछि उनीहरूबाहेक सबैलाई घर पठाइदियौं । भोलिपल्ट थप तीन जनाको रिपोर्ट पोजिटिभ आयो ।’

सानो गल्तीले ठूलो समस्या सिर्जना भएको उनको भनाइ छ । ‘संक्रमितलाई फर्काउन जाँदा गाउँलेले लापरबाही भयो भनेर विरोध गरे । सम्झाइबुझाइ गरेर बल्लबल्ल ल्यायौं,’ उनले भने, ‘संक्रमितहरू घरबाहेक अन्यत्र कतै गएको देखिएको छैन । समुदायमा संक्रमण फैलिन पाएको छैन ।’

स्वाब परीक्षणमा भइरहेको ढिलाइ र १४ दिनसम्म लक्षण नदेखिए कोरोना पोजिटिभ हुँदाहुँदै पनि घर पठाउने गरिएका कारण ट्रेसिङमा ध्यान नपुगेको हो । ‘एक सातासम्म कुनै लक्षण नदेखिए पोजिटिभ भए पनि अरूमा संक्रमण फैलिन सक्दैन,’ कोरोना विशेष अस्पताल बेलझुन्डीका सदस्यसचिव डा. सर्वेश शर्माले भने, ‘मन्त्रालयबाट पनि त्यस्तो परिपत्र भएका कारण पोजिटिभ हुँदाहुँदै घर पठाउने गरिएको हो ।’

संक्रमितहरूको ट्रेसिङ हुन जरुरी रहेको बताउँछिन् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी । ‘संक्रमितको ट्रेसिङ नगर्नु जोखिमपूर्ण छ । एउटा व्यक्तिले कति धेरैलाई संक्रमण फैलाउन सक्छ भन्ने बुझ्नुपर्छ,’ उनले भनिन्, ‘ट्रेसिङ नहुँदा हामी स्वास्थ्यकर्मीलाई समेत जोखिम भइरहेको छ । अस्पतालमा आएका बिरामी कस्ता छन् भन्ने नै थाहा नहुने भइसक्यो ।’ सुरुमा भारतबाट आएकालाई मात्रै निगरानीमा राख्ने गरेकामा अहिले सबैबाट सतर्क हुनुपर्ने उनले बताइन् ।


संक्रमितहरू सबैको ट्रेसिङ हुँदै आएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको दाबी छ । ‘धेरैजसो भारतबाट आएर सीधै क्वारेन्टाइनमा बसेका छन् । उनीहरू अरूको सम्पर्कमा जानै पाएका छैनन्,’ उनले भने, ‘कोही कतै सम्पर्कमा गएको थाहा पाए ट्रेसिङ गरेर क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने गरेका छौं ।’ दाङमा शनिबारसम्म ९४ जनामा संक्रमण पुष्टि भएको छ । अहिले २ सयवटा क्वारेन्टाइनमा ४ हजार ९ सय जना बसिरहेका स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । जिल्लामा ६ हजार ७ सय ८८ जनाको स्वाब संकलन भएकामा अझै ३ हजार ५ सय १७ जनाको परीक्षण रिपोर्ट आइसकेको छैन ।


कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित रंगपुरका त्रियोगीनारायण जयसवाल घरबाहिर निस्किन डराउँछन् । गाउँमा संक्रमितको संख्या धेरै भएकाले उनी हिँड्डुल गर्न छाडेका हुन् ।

संक्रमितसित घुलमिल भएका व्यक्ति पनि खुलेआम घुम्ने गरेकाले उनी ढुक्क छैनन् । महाराजगन्ज नगरपालिका हर्दौनाका श्याम प्रजापतिको अवस्था पनि उस्तै छ । ‘गाउँका दुई संक्रमितको ट्रेसिङ गरिएकै छैन,’ उनले भने, ‘उनीहरूका परिवार गाउँमा हिँड्डुल गरिरहेका छन् ।’ यसले संक्रमण फैलाउने चिन्ता बढेको उनले बताए ।

मुलुकमै सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामा कन्ट्याक्ट ट्रेसिङ नहुँदा यहाँको समुदाय चिन्तामा छ । सचेत र अगुवा नागरिक यसले नराम्रो अवस्था निम्त्याउन सक्ने आकलन गर्दैछन् । जिल्लामै सबैभन्दा बढी १ सय ६८ संक्रमित रहेको यशोधरा गाउँपालिकामै कन्ट्याक्ट ट्रेसिङ गरिएन । पहिलोपटक वैशाख ३० मा यहाँ १२ जना संक्रमित भेटिएका थिए । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा ५२ जना सम्पर्कमा आएको पाइयो । जसमध्ये २५ जना अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा सँगै बसेका थिए । बाँकी २७ जना समुदायमा पुगिसकेका थिए । ‘समुदायमा गएर उनीसँग भेटेर फर्म पनि भरेर ल्यायौं,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘तर उनीहरूको स्वाब लिन सकेनौं ।’

उनका अनुसार स्वाब संकलन गर्न भीटीएमको अभाव थियो । ‘क्वारेन्टाइनकै मान्छेको स्वाब लिन सक्ने अवस्था भएन । समुदायको कसरी लिने ?,’ उनले प्रश्न गरे । कन्ट्याक्ट ट्रेसिङमा आएका समुदायका व्यक्ति सम्पर्कमा आउन नचाहेको र आफूले पनि जोरजबरजस्ती नगरेको उनको भनाइ छ । ट्रेसिङकै लागि ‘बी वान फर्म’ भरेर अनुशिक्षण पनि दिइयो । दुई अहेब र एक जना अनमी राखेर ५ वटा समिति पनि बनाइयो तर काम हुन सकेन । समिति अहिले निष्क्रिय छ । ‘पहिले अगाडि जे समस्या आयो, त्यसको समाधानमा लाग्यौं,’ गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने, ‘जिल्ला, प्रदेश र मन्त्रालयबाट पनि ताकेता भएन ।’

महाराजगन्ज नगरपालिकामा पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेन । यहाँ १ सय २२ संक्रमित छन् । यसकै लागि ३ वटा समिति गठन गरिएको छ । तर काम नभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल स्विकार्छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुँदा गाउँमा गाह्रो भइरहेको गैडहवाका नरसिंह कहारले बताए । ‘उनीहरूलाई पीसीआर पनि नगरी छाडिएको छ,’ नरसिंहले भने, ‘उनीहरूलाई देख्दा आफू तर्कनुपर्ने अवस्था छ ।’ उनका अनुसार गाउँमा ‘दहशत’ (आतंक) जस्तै अवस्था बनेको छ ।

६७ संक्रमित रहेको मायादेवी गाउँपालिकामा पनि अन्य पालिकाको भन्दा सुदृढ अवस्था छैन । वैशाख २५ र २६ मा देखिएका ५ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुँदा १० जना सम्पर्कमा आएको देखिएको थियो । उनीहरूको बाहेक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । ‘हामीले हरेक वडामा ३/३ स्वास्थ्यकर्मीको टोली बनायौं,’ गाउँपालिका स्वास्थ्य शाखाका अहेब रनकुमार श्रेष्ठले भने, ‘तर काम गर्न सकेका छैनौं ।’

३३ संक्रमित भेटिएको कपिलवस्तु नगरपालिकामा एकघन्टे अनुशिक्षणबाहेक अन्य काम नभएको नगरका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने सघन रूपमा नभए पनि बिस्तारै ट्रेसिङ भइरहेको बताए । ‘क्वारेन्टाइन व्यवस्थापन, त्यहाँ बसेकाको स्वाब संकलन र परीक्षण गराउनुपर्दा धेरै समय गयो,’ उनले भने, ‘अब तीव्र गतिमा काम गर्छौं ।’ शनिबार २९ जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ३४ पुगेको छ । 

कान्तिपुर दैनिकबाट