काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को अन्तिम खेलमा अष्ट्रेलियाले नकआउट चरणको यात्रा तय गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो ।  यो नतिजासँगै अष्ट्रेलिया समूह उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ । पाराग्वेको यात्रा जारी रहने वा नहुने टुंगो अन्य समूहको नतिजापछि मात्र लाग्नेछ।

खेलको सुरुआत दुवै टोलीले तीव्र गतिमा र शारीरिक रूपमा प्रतिस्पर्धात्मक शैलीमा गरेका थिए। केही समयपछि अष्ट्रेलियाले खेलमाथि नियन्त्रण जमाउँदै लगातार आक्रमण बुन्न थाल्यो। विशेषगरी दायाँ विंगबाट जोर्डन बोस, एडन ओुनिल र क्रिस्टियन भोल्पाटोको उत्कृष्ट तालमेलले पाराग्वेको रक्षापंक्तिलाई दबाबमा राखेको थियो। तेस्रो मिनेटमै ज्याक्सन इरभिनले गरेको शक्तिशाली प्रहारलाई पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले रोके। 

पहिलो हाफभर बोस, भोल्पाटो र ओुनिलले राम्रो संयोजन बनाए पनि उनीहरूले फरवार्ड नेस्टोरी इरानकुन्डाका लागि स्पष्ट गोल अवसर सिर्जना गर्न सकेनन्। दोस्रो हाफको सुरुआतमै पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले अलेक्सान्द्रो माइदानाको स्थानमा माउरिसियोलाई मैदानमा उतारेपछि टोली केही समय आक्रामक देखिएको थियो। तर त्यसपछि पनि खेलको लय खासै परिवर्तन भएन र अष्ट्रेलियाले नै बलमा बढी नियन्त्रण कायम राख्यो।

खेलको अन्त्यतिर अष्ट्रेलियाले सबैभन्दा राम्रो अवसर सिर्जना गर्‍यो। जोर्डन बोसले दायाँ विंगबाट दुई रक्षकलाई छल्दै प्रहार गरेको सट दोस्रो पोस्टबाट थोरै बाहिरिएको थियो। गोलका अवसर निकै कम बनेको खेलमा त्यो उत्कृष्ट अवसरमध्ये एक थियो। बराबरीसँगै अष्ट्रेलियाले समूह ‘डी’मा दोस्रो स्थान सुरक्षित गर्दै जुलाई ३ मा डलासमा समूह ‘जी’को उपविजेतासँग अन्तिम ३२ को खेल खेल्नेछ। यता पाराग्वे भने उत्कृष्ट तेस्रो स्थानमा पर्ने सम्भावनाको प्रतीक्षामा रहनेछ।