६ वर्षअघि ल्याइएको ल्याब सञ्चालनमा ल्याइँदै : कोरोना भाइरस परीक्षण सुरु
काठमाडौं - कोरोना भाइरसजस्ता संक्रामक रोगको नमुना परीक्षण गर्न ६ वर्षअघि ल्याइएको ल्याब बल्ल सञ्चालन हुने भएको छ । सो ल्याब सञ्चालन गर्न आवश्यक पर्ने विशेष केमिकल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु आइपुगेको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक र विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०१४ मा ‘बिएसएल थ्री’ ल्याब नेपाल ल्याइएको थियो ।
१० करोड रुपैयाँमा जडान गरिएको सो ल्याब सरकारले सञ्चालन गरेको थिएन । प्रयोगशालाकी निर्देशक डा. रुना झाले सोमबारबाट ल्याब सञ्चालन हुने बताएकी छिन् । ल्याब सञ्चालनसँगै कोरोना भाइरस परीक्षण पनि नेपालमै हुने भएको छ । कोरोना आशंका गरी टेकु अस्पतालले तीनजनाको नमुना सो प्रयोगशालामा पठाइसकेकोे छ । डा. झाका अनुसार रुघाखोकीका बिरामी पनि कोरोना भाइरस परीक्षण गरिदिनू भनेर आउन थालेका छन् । सरकारले आपत्कालीन अवस्था भनेर परीक्षण शुल्क नलिने भएको छ, शुल्क अहिलेसम्म तोकिएको पनि छैन ।
टेकु अस्पतालमा कोरोना भाइरसको आशंका गरिएका दुईजना बिरामी छन् । ४८ वर्षकी महिला बेइजिङबाट नेपाल आएकी थिइन् । उनी शनिबार अस्पताल भर्ना भएकी हुन् । त्यस्तै अर्का एक २८ वर्षकोे पुरुष हङकङबाट फर्किएका हुन् । उनलाई कोरोना भाइरसको आशंकामा गत शुक्रबार ग्रान्डी अस्पतालले टेकु रिफर गरेको होे । सरकारले कोरोना भाइरस फैलिएमा उपचार गर्न पाँच अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । वीर, शिक्षण, पाटन, सिभिल र टेकु अस्पतालमा कोरोना भाइरसको उपचार हुने भनिए पनि ती अस्पतालमा त्यस्तो पूर्वाधार छैन ।
नयाँ पत्रिकाबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस