कांग्रेस महाधिवेशन फेरि अन्योलमा
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ।
पार्टी विधानको व्यवस्थाअनुसार पाँच वर्षे कार्यकाल गुजारिसकेको कांग्रेसले संवैधानिक सहारा लिँंदै आगामी भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। तर पटकपटक संशोधित कार्यतालिकाअनुसार पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढाउन नसकेको कांग्रेसका लागि कोरोना भाइरसको बढ्दो संक्रमणसँगै महाधिवेशन थप अन्योलमय बनेको छ।
संक्रमण बढ्दै गएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक कांग्रेसले स्थगित गरेको छ। पिसिआर परीक्षणपछि मात्र बुधबार केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको कांग्रेस पदाधिकारीको आइतबारको बैठकमा संक्रमण बढ्दै गए भदौमा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विषयले प्रवेश पाएको छ। संक्रमण बढ्दै जाँदा जिल्लासहितका तल्लो निकायलाई सदस्यतासहितका विषयमा प्रश्न गर्न पनि नसकिने भन्दै नेताहरूले महाधिवेशनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका छन्।
‘भाइरसको संक्रमण पनि बढ्दै जाने र क्रियाशील सदस्यता वितरणको काम पनि नसकिँदा भदौमा कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेमा प्रशस्त कुरा उठेका छन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर कसरी अघि बढ्ने भन्ने टुंगोमा पुगिएको छैन।’
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस