काठमाडौं, बुटवल - कोरोना संक्रमित बोक्ने एम्बुलेन्स अभाव भएपछि रूपन्देहीका तीन स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडी उपलब्ध गराएका छन्। तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाका सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको हो। 

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले दुई स्कार्पियोलाई बिरामी बोक्ने बनाएका छन्। ‘अहिलेको प्राथमिकता भनेको बिरामीको सेवा गर्नु हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था हुनुहुँदैन भनेर गाडी बिरामी बोक्ने निर्णय गरिएको छ।’

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बोक्न प्रयोगमा ल्याएका छन्। तिलोत्तमामा दुई एम्बुलेन्ससमेत सञ्चालनमा छन्। नगर प्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत चारवटा सवारी साधनले कोरोना संक्रमित बोक्नेछन्। छिटोछरितो रूपमा सेवा दिन आफू चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताए।

महामारी नहट्दासम्म वैकल्पिक व्यवस्था गरी आफू जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन् । संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखको भनाइ छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट