काठमाडौं-राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका छन् । 

कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद  रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरियो । साथै, कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।