काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न भागमा केही महिनायता आएका बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत वितरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

आइतबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिबारे भेट्न आएको प्रतिनिधि मण्डलसँग खुमलटारमा भएको छलफलका क्रममा प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहत वितरणलाई तीव्रता दिन नसकेको कुरा बाढीपीडितसँगको भेटमा दाहालले बताएका हुन् ।

प्रचण्डले बाढीपीडितलाई राहत दिलाउन माओवादी केन्द्रले सरकारलाई घचघच्याउने पनि बताएका छन् । बाढीपीडितलाई माओवादीको तर्फबाट सक्दो सहयोग गरेको बताउँदै उनले अब सरकारले थप कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

बाढीपीडितसँगको भेटका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूले मेलम्ची र हेलम्बुमा बाढीले निम्त्याएको विपत्तिको अवलोकन गर्न आउने बताएका छन् ।