काठमाडौं - प्रेमिकाको विषयलाई लिएर विवाद हुँदा भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार भारतको उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका-१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको शनिबार राति हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा उनीसँगै काम गर्ने उत्तरप्रेदशकै २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरेको र प्रेमिकाको विषयमा विवाद हुँदा हुसैनको अनुहार र टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको छ । हत्या गरी शवलाई नरकट घारी खोल्सामा फालेको पाइएको छ । प्रहरीले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर लगेर क्षतविक्षत शवको पहिचान गरेको थियो ।

हाल शवलाई पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।