काठमाडौं,एजेन्सी - कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा स्पेनले पुनरागमन जित निकालेको छ । गएराति भएकाे खेलमा स्पेनले जर्जियालाई २-१ ले पराजित गरेको हो । 

खेलको ४३औं मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम रहन सकेन । ५६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई खेलमा फर्काए । इन्ज्युरी समयमा ड्यानियल ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को पुनरागमन जित दिलाए । त्यसपछि लिभान सेन्जेलिया रातो कार्ड खादै मैदानबाट बाहिरिएसँगै जर्जिया १० खेलाडीमा समेटिएको थियो । 

जितसँगै स्पेन समूह ‘बी’ मा २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित जर्जिया अंक विहीन रहेको छ । समूहकै अर्को खेलमा शीर्षस्थानको स्वीडेनले कोसोभोमाथि ३–० को सहज जित दर्ता गरेको छ ।