काठमाडौं - बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ।

प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै शुक्रबार र शनिबार अत्यधिक वर्षाको सम्भावना रहेका २५ जिल्लामा सडक यातायात सञ्चालनमा रोक लगाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।

सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला र सुर्खेत उच्च जोखिममा रहेका जिल्ला हुन्।

त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जा मा पनि दुई दिन यातायात सञ्चालन नगर्न भनिएको छ।

यसैगरी ३० जिल्लामा धेरै वर्षा हुने सम्भावना रहेकाले ती जिल्लामा रातको समयमा यातायात सञ्चालन बन्द गर्न भनिएको छ। दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय भने स्थानीय अवस्था हेरी जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले गर्ने प्राधिकरणले जनाएको छ।

बाँकी २२ जिल्लामा समेत हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मधेस प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली छन्।

प्राधिकरणले वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।