सुनसरी - एक अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा सुनसरीकी एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ की ज्योति शाही रहेकी छन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले जिल्ला अदालत, सुनसरीबाट पक्राउ अनुमति लिएर धरानको खैरेनीबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार शाहीले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोप छ।
प्रहरीका अनुसार विदेशमा श्रमिकले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका बैंक खातामार्फत कारोबार हुने गरेको सूचनाका आधारमा शाहीमाथि अनुसन्धान अघि बढाइएको थियो।
प्रारम्भिक अनुसन्धानमा विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको खुलेको सीआईबीले जनाएको छ। यही प्रक्रियामार्फत हुण्डी कारोबार सञ्चालन गरेको प्रहरीको दाबी छ।
शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा दर्ता रहेको ‘शाही मनी ट्रान्सफर’ का नाममा कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गरेको पाइएको सीआईबीले जनाएको छ।
पक्राउ परेकी शाहीमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



