काठमाडौं - सरकारले पुन लकडाउनमा कडाई गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै संक्रमितदर ह्वात्तै बढेपछि लकडाउनमा कडाई गर्ने तयारी गरेको हो ।

सोमबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बैठकले अहिलेको लकडाउनको मोडालिटी अझै व्यवस्थित गर्ने निर्णय गरेको छ ।

सीसीएमसीले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने सोमबार बसेको सीसीएमसीको बैठकले निर्णय गरेको सीसीएमसी स्रोतले बतायो ।

सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै, सिसिएमसीले विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई जिम्मा दिएको छ ।