काठमाडौं - शुक्रबार विभिन्न मुलुकमा अलपत्र परेका ८९४ जना नेपाली स्वदेश फर्किएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण रोजगारी गुमाएर अलपत्र परेका र स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीहरु आज काठमाडौँ आइपुगेका हुन् ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार बहराइनबाट दुई उडानमा २७०, मलेसियाबाट दुई उडानमा ३०६ जना नेपाली काठमाडौं आइपुगेका छन् । त्यसैगरी कुवेतबाट १६० र यूएईबाट १५८ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएका सबैलाई स्वास्थ्य परीक्षण एवम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार प्रदेश अनुसार तयार पारिएका होल्डिङ सेन्टरमा राखिएको छ । उक्त होल्डिङ सेन्टरमा नेपाल आएका व्यक्तिको विवरण, स्वास्थ्य परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा गरेर प्रदेशको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाउने तयारी भइराखेको बताइएको छ ।