काठमाडौं - सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार गोरखापत्रसँग कुराकानी गर्दै भने, “पाँच लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ । ” उहाँले विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा छ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्थासमेत आकलन गरी तयारी गरिएको बताए।

उनका अनुसार विदेशबाट आएकालाई परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, निश्चित अवधिपछि फेरि परीक्षण गरेर पूर्णतः स्वस्थ भएपछि परिवारमा पठाउने नीति सरकारले लिएको छ ।मन्त्री ढकालले देशभर परीक्षण बढाइएकै कारण सङ्क्रमितको सङ्ख्या बढेको चर्चा गर्दै भने, “माघ ९ गते पहिलो केस पुष्टिका लागि हङ्कङ ल्याबको प्रयोग गरिएको थियो । यद्यपि यो महामारी बीचमै हामीले अहिले २० ठाउँबाट परीक्षणको सेवा दिइरहेका छाँै । ”

उनका अनुसार अहिलेसम्म एक लाख ५२ हजारलाई परीक्षणको दायरामा ल्याइसकिएको छ । नमुना सङ्कलन बढी भएको दिनमा तीन हजार आठ सयभन्दा बढीको पीसीआर परीक्षणसमेत गरिएको छ ।

 गोरखापत्र दैनिकबाट