ईश्वर पोखरेलको प्रतिवेदनः ‘माओवादीसँगको एकता भंगपछि पार्टीमा युवा ह्वात्तै बढे’
काठमाडौं - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् ।
एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै महासचिव पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन् । ‘२०७७ पुस ५ पछिको अवस्थामा पार्टीमा युवाहरुको आकर्षण बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस बीचका अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने काम अघि बढाइएको छ ।’
महासचिव पोखरेलले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमालेले केन्द्रमा २० प्रतिशत नेता गुमाएको उल्लेख गरेका छन् भने प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले पार्टीको सदस्य वढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने भनेको छ ।
पोखरेलले थप भएका सदस्यको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन् ।
एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूसालसहितका नेताहरू सहभागी छन् ।
फेसबुक पेज Like गर्नुहोस