काठमाडौं - भारतको अयोध्यामा आज सोमबार भगवान रामको आज प्राण प्रतिष्ठा भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गर्भगृहमा उपस्थित भएर प्राण प्रतिष्ठा गरेका थिए भने श्रीरामको मूर्तिलाई फूल र कपडा चढाएका थिए । यस पूजामा मोदी बाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, आरएसएस प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिहरु मन्दिरको गर्भगृह सहभागी थिए । श्रीरामको अभिषेक हुनेबित्तिकै वायुसेनाको हेलिकप्टरले मन्दिर परिसरमा पुष्पवृष्टि गरेको थियो ।

कार्यक्रममा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन जस्ता गायकहरुले राम भजन गाएर सुरुवात गरिएको थियो । यसपछि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राईले मन्दिरसँग सम्बन्धित जानकारी दिएका थिए ।