बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएनन्
काठमाडौं - धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर -१ तिप्लिङको पुरु नजिकै बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् ।
लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो जाँदा बिहीबार बिहान बा २ क ४८२१ नम्बरको डोजरसहित डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय निर्माण व्यवसायी अनिश तामाङ पुरिएका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३६ जनाको टोली र स्थानीयले बिहीबार दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको र शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरो निकै ठूलो भएकाले पन्छाउन त्यति सजिलो नभएको र हाल पहिरो पन्छाउने काम जारी रहँदा डोजरको केही भाग भने देखिएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । वेपत्ता ३ जनाको भने अत्ताेपत्ताे छैन । ‘पहिरो पन्छाउने काम जारी छ । डोजको केही भाग देखिएको छ भने मान्छे फेला पार्न सकिएको छैन’ उनले भने ।
फेसबुक पेज Like गर्नुहोस