काठमाडौं - चितवन राइनोज अविजित रहँदै पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालामा काठमाडौं गोल्डेन वारियर्समाथि ६० रनको जित हात पार्दै चितवनले फाइनलमा स्थान पक्का गरेको हो ।

चितवनले दिएको १६७ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रनमै समेटियो । यो सँगै काठमाडौंको पीपीएल यात्रा करिब/करिब सकिएको छ ।

काठमाडौंको लागि कप्तान ज्ञानेन्द्रले ४० रन बनाए । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए ।चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २/२ विकेट लिए । यस्तै, करण केसीले १ विकेट लिए ।

यसअघि काठमाडौंले टस जितेर पहिला फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गर्ने निम्तो पाएको चितवनले निर्धारीत २० ओभरमा मात्र ४ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

चितवनका लागि बाबर हायत र रोहन मुस्ताफाले अर्धशतकिय पारी खेले । ४७ बलको सामना गरेका बाबरले ७० रन बनाए । मुस्ताफाले ५९ रन बनाउँदै अविजित रहे । सन्नी पटेलले १५ रन बनाए। काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए ।