सोलुखोला जलविद्युतमा पाइप बिस्फोट, दुई इन्जिनियरको मृत्यु
काठमाडौं - सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ।
८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा आइतबार साँझ पानी परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनामा एक जना घाइते भएका छन् ।
घटनामा परी माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको छ ।
पाइप विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । तर, अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्। उनलाई आइतबार राति नै हेलिकप्टरबाट काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस