आर्सनल र युनाईटेड युरोपा लिगको अन्तिम १६ मा
काठमाडौं, एजेन्सी - प्रिमियर लिग क्लब आर्सनल र म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा आर्सनलले बेन्फिकालाई र युनाईटेडले रियल सोसीडाडलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।
ग्रीसको एथेन्समा भएको खेलमा आर्सनलले बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले दुई गोल र किएरण टीएर्नेले एक गोल गरे । बेन्फिकाका डिएगो गोनकाल्भेस र राफा सिल्भाले एक/एक गोल फर्काए ।
पहिलो लेगमा पोर्चुगिज क्लबसँग १-१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४-३ को जितसहित प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै, बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४-० को जितसहित अन्तिम १६ मा पुगेको छ ।
पहिलो लेगमा निकालेको ४-० को जितले युनाईटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भयो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस