काठमाडौं-उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको बताएका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वलाई संशोधन गर्न ल्याएको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले अनिवार्य दायित्वहरुमा समेत न्यून रकम विनियोजन गर्नुपरेको बाध्यता सुनाए ।

अर्थमन्त्री पौडेलले भने, ‘केही समयदेखि राजस्वले साधारण खर्च धान्न धौधौ भएको छ । यो सच्चाइलाई यहाँ राख्दा हुन्छ जस्तो लाग्छ । चालु आवको विनियोजनमा कैयौं अनिवार्य दायित्वका शीर्षकहरुमा समेत न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको छ ।’

उनले राजस्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्युन बजेट विनियोजन गरिएको बताए ।

३१ प्रतिशतको राजस्व वृद्धिको लक्ष्यमा आधारित भएर बजेट प्रस्तुत गर्दा पनि कैयौं अनिवार्य दायित्वहरुमा पूरा विनियोजन गर्न नसकिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

कैदीबन्दीको सिदादेखि पेन्सन, तलब जस्ता दायित्वलाई पनि न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको उनले बताए ।

सीमित स्रोतलाई उच्च प्रतिफल सुनिश्चित हुने गरी कसरी विनियोजन गर्ने भन्ने उद्देश्यमा केन्द्रित भएर संशोधन विधेयक आएको अर्थमन्त्री पौडेलले प्रष्टीकरण दिए ।