काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम बालुवाटारमा सुरु भएको छ । 

बिहान ११ बजेका लागि भनिएको चियापान कार्यक्रममा केही ढिला गरी प्रधानमन्त्री ओली पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटार जाने क्रम सुरू भएको हो ।

चियापान समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना लगायतका मन्त्रीहरुसहित सांसदहरु बालुवाटारमा प्रवेश गरिसकेका छन् । हाल कार्यक्रममा सञ्चारकर्मीहरुलाई भने प्रवेश निषेध गरिएको छ । 

सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गरेर एमाले पार्टी ब्यूँताएपछि पहिलोपटक चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

तर, चियापान कार्यक्रमलाई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने बहिस्कार गरेकाे छ । गत फागुन २८ गते  प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ ।  साे पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ । त्यसकै सन्दर्भमा आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागेको छ ।