काठमाडौं - नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहालको निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । प्रदेश अधिवेशन प्रतिनिधिहरुसँग छलफलका क्रममा उनले सर्वसम्मत भएपनि चुनाव भएपनि आफू मैदानमै रहेको बताएका हुन् ।

पूर्वसांसद तथा प्रतिनिधिसभा अर्थ समितिको  पूर्वसभापति दाहालले नेतृत्वले आफूलाई उम्मेदवार नबन्नु नभनेको र अध्यक्षको दाबी गर्ने सबै योग्यता तथा योगदान रहेकाले शीर्ष नेतृत्वले आफ्नो पक्षमा निर्णय गर्ने बताएका छन् ।

दाहालले अध्यक्षको तयारी यसअघि नै थालिसकेका थिए । अध्यक्षको उम्मेदवार बन्नकै लागी केन्द्रीय सदस्य दाहाल प्रदेश प्रतिनिधि चयन भएर आएका छन् ।

दाहाल नेतृत्व र अधिवेशन प्रतिनिधि दुवैको समर्थन लिएर बागमतीको अध्यक्ष बन्ने अभियानमा रहेको मकवानपुरका युवा नेता दीपक न्यौपानेले बताए ।

दाहालले पार्टीका नेताहरुलाई कुनै एकजनाको पक्षमा विभाजित नहुन समेत आग्रह गरेको निकट स्रोतले जनाएको छ । मकवानपुर १ बाट ३ पटक सांसद निर्वाचित दाहाल २०४८ का कान्छो सांसद थिए ।

उनले मकवानपुर एमालेको नेतृत्वसमेत गरिसकेका छन् । बागमतीको अध्यक्षका लागि कैलाश ढुंगेल, केशव पाण्डे र सानुकुमार श्रेष्ठले पनि दाबी कायमै राखेका छन् ।