काठमाडौं - चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ । लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ । काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

‘काठमाडाैंमा रहेको यातायात कार्यालयले १८ गतेबाट लाइसेन्सको लागि (ट्रायल) परीक्षा सञ्चालन गर्नेछन्’ उनले भने, ‘बाहिरका कार्यालयले दुईसाताभित्र सञ्चालन गर्छौ भनेका छन् ।’ पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

यससँगै करिब ४ महिनापछि कोरोनाभाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो । पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।