काठमाडौं - प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा वेपत्ता भएकोमा औपचारिक विरोध जनाउन माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा विरोध जनाउँदै दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले उक्त प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘सीमामा यसरी एउटा नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ।’ उनले भनेका छन् । 

बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद ठगुन्नालाई बोल्न समय दिएका थिए । 

आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको उनकाे आरोप छ । सांसद ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।

यस्तै, एमालेले घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।