काठमाडौं - कोरोनाको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका एक सय ७५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार घर जान पाउने भएका छन् । उनीहरूको शनिबार नमुना संकलन गरिएको छ । सोमबार बिहानसम्म रिपोर्ट आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

तर, एकजनाको मात्रै रिपोर्ट नेगेटिभ आए कोही पनि घर फर्किन पाउने छैनन् । संक्रमितलाई सीधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमै राखिन्छ । ‘संकलित नमुना शनिबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगिएको छ । तर, आइतबार नै सबैको रिपोर्ट आउने सम्भावना कम छ,’ स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्दप्रसाद श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘सबैको रिपोर्ट नेगेटिभ आए सोमबारसम्म घर पठाइनेछ ।’

४ फागुनमा उद्धार गरिएका उनीहरूको पहिलो नमुना परीक्षण सोही दिन गरिएको थियो । ७ फागुनमा आएको सबैको रिपोर्ट नेगेटिभ थियो । कोरोना प्रभावित क्षेत्रबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने तथा पहिलो र चौधौँ दिनमा दुईपटक नमुना परीक्षण गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर, वुहानबाट ल्याइएकाको १४ दिने अवधि शनिबार नै पूरा भए पनि दोस्रो नमुना परीक्षण रिपोर्ट आउन ढिला हुँदा क्वारेन्टाइन बसाइ लम्बिएको छ ।

उद्धार गरिएका एक सय ७५ बाहेक उद्धारमा जाने टोली सदस्य तथा क्वारेन्टाइनमा रहेका अन्य १८ जनाको पनि नमुना संकलन गरिएको छ । सबै एक सय ९३ जनाको र्याल र नाकबाट नमुना संकलन गरिएको हो । नमुना संकलनका लागि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी खरिपाटी पुगेका थिए ।

विश्वमा पछिल्ला दिन भएका अनुसन्धानले क्वारेन्टाइनमा बसेका व्यक्तिमा २४ दिनपछि पनि कोभिड–१९ को संक्रमण देखिएको छ । त्यसैले दोस्रो रिपोर्ट नेगेटिभ आए पनि अझै जोखिम रहेकाले सुरक्षित रहनुपर्ने सुझाब क्वारेन्टाइनमा खटिएका चिकित्सकहरूले दिएका छन् ।

नयाँ पत्रिकाबाट