काठमाडौें,एजेन्सी - च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज दुई हेभिवेट क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह 'जी'मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा जित निकालेका दुवै टोली आजको खेल पनि आफ्नो पक्षमा पार्ने लक्ष्यमा छन् । समूह चरणको पहिलो खेलमा युभेन्ट्सले डाइनामो किभलाई २-० ले हराएको थियो ।

युभेन्ट्स स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिदैँछ । कोरोना संक्रमण भएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन् । यद्यपी, क्लबले यसबारे केही बताएको छैन ।

नेसन्स लिगमा पोर्चुगलबाट खेल्ने क्रममा रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । त्यस यता उनले कुनै खेल खेलेका छैनन् ।

यता, समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब एफटिसीलाई ५-१ ले हराएको बार्सिलोना उच्च मनोबलका साथ युभेन्ट्सविरुद्ध उत्रिदैँछ । तर, बार्सिलोनालाई टुरिनमै युभेन्ट्सलाई पराजित गर्न भने सजिलो छैन ।

चोटका कारण बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्होले युभेन्ट्सविरुद्ध खेल्ने छैनन् । यस समूहमा ३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।