काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि विदेश भागेको भनेका पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएको खुलेको छ ।

विमानस्थल स्रोतका अनुसार खड्का भारतबाट सडकमार्ग हुँदै काठमाडौं आएका हुन्।

आइतबार दिउँसो ४ बजे उनी झापाको भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं आएका थिए। आन्दोलन लगत्तै खड्का परिवारसहित सडकमार्गबाट भारत गएको सूचना राज्यका विभिन्न निकायमा पुगेको थियो।

खड्काले आफु परिवारको उपचारका लागि भारत गएको र नभागेको सोमबार बुढानिलकण्ठस्थित आफ्नै घरमा उपस्थित भएका पत्रकारहरुलाई वताएका थिए।

उनले आन्दोलनपछि केही समय तराई गएको र परिवारलाई डेंगी भएपछि नयाँदिल्ली गएको वताएका थिए। आफुविरुद्ध वारेन्ट पनि जारी नभएको र राज्यले कही नजानु समेत नभनेको उनको भनाई छ।

जेनजी आन्दोलनमा उनको घरबाट ठूलो परिणाममा पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो।