मध्यान्हमै अस्ताएको ‘सूर्य’
काठमाडौं - ‘जीन्दगीमा सबैभन्दा महत्वपूर्ण केही छ भने त्यो जीन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवादको हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षा सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन् । सुशान्त अस्पतालको शैय्यामा छोरालाई अनेक तरहले बाँच्न र फेरि संघर्षमा रमाउन उत्पेरित गर्छन् । माथिको संवाद नै फिल्मको मूल मर्म हो ।
हलमा रिलिज भएको उनको अन्तिम फिल्म हो ‘छिछोरे’ । ‘रिल’ मा छोरालाई जीवनप्रतिको मोह पैदा गरेका सुशान्तले ‘रियल’मा आफैंले आफ्नो जीन्दगीको अन्त्य गरेका छन् । आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा फेला परे । कस्तो नमिठो संयोग !
लकडाउनयता सुशान्त अपार्टमेन्टमा एक्लै थिए । आइतबार अबेरसम्म उनको पोस्र्टमार्टमको रिर्पोट आएको छैन । ६ महिनायता उनी डिप्रेसनबाट पीडित थिए भनिएको छ । उनी झुन्डिएको देखेपछि घरको सहयोगीले प्रहरीलाई खबर गरिदिएका थिए ।
सात वर्षको फिल्म करिअरमा सुशान्तले जे जति कमाए, त्यो साँच्चै लोभलाग्दो छ । उनका फिल्म बक्सअफिसमा चम्किएनन् मात्र, दर्शकको दीलमा पनि बसिरहे । सधैं प्रसंशाको केन्द्रमा हुन्थ्यो, सुशान्तको जीवन्त अभिनय । उनी पर्दामा जे बन्थे, जीवन्त लाग्थ्यो । बलिउडका पण्डितहरुले त्यसै भनेका थिएनन्– ‘फिल्मस्टारमा हुनुपर्ने तर सुशान्तसँग नभएको त्यस्तो कुनै गुण नै छैन ।’ बच्चादेखी तन्नेरीहुँदै पाका उमेरका समूहका दर्शकको माया जितेका सुशान्तले ३४ वर्षमै जीवनयात्रा टुंगाए ।
सुशान्तको समाप्तीले बलिउडमात्र होइन, हरेक सिनेप्रेमीलाई स्तब्ध तुल्याएको छ । नेपालमा पनि नेतादेखि कलाकारसम्मले उनीप्रति संवेदनाप्रकट गरेका छन् । राप्रपा नेता कमल थापाले ट्वीटरमा महेन्द्र सिंह धोनीको बायोपिकमा सुशान्तको अभिनय मन परेको उल्लेख गर्दै उनको आत्माको शान्ति कामना गरेका छन् । मनिषा कोइरालाले ट्वीटरमा लेखेकी छन्, ‘यो सुनेर एकदमै स्तब्ध छु । विभिन्न विषयमा उनको बहस मन पथ्र्यो । हार्दिक संवेदना । ओम शान्ति ।’ अभिनेता प्रियंका कार्कीले ट्वीटरमा सुशान्तको तस्बिर पोस्ट गर्दै डिप्रेसनको अनुहार नहुने भएकाले सबैसँग नम्र हुन आग्रह गरेकी छन् । उपन्यासकार बुद्धिसागरले लेखेका छन्– ‘गज्जबका अभिनेता थिए । युवा थिए, भविष्य स्वर्णिम थियो । तर, सुटुक्क हिडिहालेछन् ।’
सुशान्तको निधनको खबर सार्वजनिक भएको केही घन्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत संवेदना व्यक्त गरे । ‘एउटा प्रतिभाशाली युवा अभिनेता छिटै गए । मनोरञ्जनको दुनियामा उनको उदयले धेरैलाई प्रेरणा दिएको छ र अनेकौं यादगार अभिनयले उनी बाँचिरहनेछन् ।’
बलिउडका बादशाह शाहरुख खानले भावविव्हल भएको उल्लेख गरेका छन् । शाहरुखको ट्वीट छ, ‘उनी मलाई असाध्यै माया गर्थे । म उनलाई सधैं सम्झनेछु । उनको उर्जा, उत्साह अनि खुशीले भरिएको मुस्कान...।’ अक्षयकुमार, अनुराग कश्यप, अजय देवगन, आलिया भट्ट, महेश चाब्रालगाएतका बलिउडकर्मी मर्माहत बनेका छन् ।
सन् २०१३ मा ‘कोई पो चे’मार्फत बलिउडमा पाइला राखेका सुशान्त १९८६ मा पटनाको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । पढाईमा अब्बल उनलाई मेकानिकल इन्जिनियरीङ पढ्दै गर्दा कलाकारिताको चस्काले छोयो । यो सन् २००४ तिरको कुरा हो । उनले चाहेर पनि आफ्नो अभिनयमोह परिवारमा व्यक्त गर्न सकेनन्, २००२ मा आमाको निधनपछि थप अन्तरमुखी बनेका उनले गत जुन ३ मा उनले इन्स्टाग्राममा आमा र आफ्नो तस्बिर पोस्ट गरेका थिए ।
सन् २००५ मा फिल्मफेयर अवार्डस् शोको कोरसमा नाच्नेमध्ये सुशान्त पनि एक थिए । अर्को वर्ष कमनवेल्थ गेम्सको उद्घाटनमा नाच्न अष्ट्रेलिया पुगे । नृत्य र अभिनय प्रशिक्षणमा लीन भएकाले पढाई छाडेर अभिनयको अनन्तयात्रामा निस्किए । सुरुमा मुम्बईकै नाट्य समूहसँग जोडिएका उनले भनेका थिए, ‘मलाई मुक्तिको अनुभव भयो । दर्शकसँग संवाद गर्न सक्छु । मैले थाहा पाएँ की म सदैव अभिनय गर्न चाहन्छु ।’
सुशान्त २००८ मा स्टार प्लसको ‘किस देश में हे मेरा दील’मा देखिए । सहायक भूमिकाका कारण खासै ‘नोटिस’ भने भएनन् । ‘पवित्रा रिस्ता’ (सन् २००९–२०११) ले चाहिं उनलाई टेलिभिजन दर्शकमाझ लोकप्रिय बनायो । अभिषेश कपुरले ‘कोई पो चे’ मा अभिनय गराएर सुशान्तको एक तहको सपना पुरा गरिदिए । यसले बक्सअफिसमा कमाल गर्यो, सुशान्तले वाहवाही पाए । रोमान्टिक–कमेडी ‘शुद्ध देशी रोमान्स’ (सन् २०१३) ले उनको लोकप्रियताको दायरा फराकिलो बनाइदियो । आमिर खानको ‘पिके’ (सन् १०१४) मा सहायक भूमिकामात्र थियो उनको, तैपनी फिल्मको अन्त्यतिर उनलाई देख्दा जो कोहीको आँखा रसाउथ्यो । एक्सन–थ्रिलर फिल्म ‘डिटेक्टिभ बम्केश वक्षी !’ (सन् १०१५) भने उत्साहप्रद हुन सकेन । जब भारतीय क्रिकेट टिमका तत्कालिन कप्तान महेन्द्रसिंह धोनीको बायोपिक ‘एम.एस.धोनी : द अन्टोल्ड स्टोरी’ (सन् २०१६)मा देखिए, तब सुशान्तको करिअर कायापलट भयो ।
यो फिल्म सुपरहिट भएपछि एकसाथ १२ फिल्मबाट अफर आएको सुशान्तले बताएका थिए । त्यति चर्चित पात्रलाई विश्वसनीय बनाउन उनले डेढ वर्ष खर्चिएका थिए । धोनीको प्रख्यात ‘हेलिकप्टर सट्’ हुबहु पर्दामा उतार्न सुशान्तले दैनिक तीन घन्टा अभ्यास गर्थे । यो भूमिकाबाट स्क्रिन अवार्डमा उत्कृष्ट अभिनेता (क्रिटिक्स)को अवार्ड चुमे, अन्य आधा दर्जन अवार्डमा मनोनयनमा परे । यही वर्ष अंकिता लोखंडेसँगको ६ वर्षको सम्बन्ध अन्त्य भयो । त्यतिबेला पनि उनले केही समय ‘लाइमलाइट’बाट बाहिर निस्केका थिए ।
‘राब्ता’ (सन् २०१७) मा उनको अभिनयले प्रसंशा बटुले पनि हिट भएन । ‘केदारनाथ’ (सन् २०१८)मा उनी भरिया बनेका थिए, यो उनको करिअरको अर्को माइलस्टोन फिल्म बन्यो । गत वर्ष उनका ‘सोन्चिरिया’ र ‘छिछोरे’ रिलिज भएका थिए । नेट्फ्लिक्सको ‘ड्राइभ’ पनि उनको मुख्य भूमिका थियो । ‘द फल्ट इन आवर स्टार्स’को हिन्दी रिमेक ‘दील बेचरा’ पोस्ट प्रोडक्सनका क्रममा छ । यो नै उनको अन्तिम फिल्म बन्ने भएको छ ।
३४ वर्षको उमेरसम्म सुशान्तले जे गरे, त्यो आफैंमा स्वर्णिम छ । तर, उनले अझ धेरै गर्न बाँकी थियो, अझ भनुम उनीसँग उनका फ्यानको अझ धेरै आशा थियो । जीवनसँग के असन्तुष्टि थियो, यत्ति छिट्टै देहत्याग गरे ।
त्यो मुस्कान, त्यो जीवन्त अभिनय । कहिले विलिन हुनेछैन ।
अलविदा प्रिय अभिनेता ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस