आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
काठमाडौं - चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफलाई ३३ रनले पराजित गर्दैै आर्मी च्याम्पियन बनेको हो । आर्मीले दिएको २१२ रनको मध्यम लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटिन पुगेको हो ।
आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्सको योगदान गरेपनि एपीएफलाई उपाभि दिलाउन सक्षम भएनन् । यस्तै, एपीएफका लागि सन्दीप जोराले २९ रन, शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए । अन्यले प्रदर्शन देखाउन सकेनन् ।
एपीएफलाई रोक्न आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले समान ३/३ विकेट लिए । सुशन भारीले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियाे । आर्मीका लागि हरि चौहानले अर्धशतकको योगदान गरे । उनले सर्वाधिक ५८ रन जोडे । यस्तै, राजेश पुलामीले २८ रन र लोकेश बमले १५ रन बनाउँदा शाहब आलम २५ रन जोडेका थिए । बलिङतर्फ पीएफका अविनास बोहोराले सर्वाधिक ४ विकेट लिए । यस्तै, किशोर महतोले २ लिँदा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले समान १/१ विकेट लिए । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस