काठमाडौं - नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । 

पार्टीको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार साँझ बसेको कार्यदलको बैठक भोलि पुनः बस्नेगरी सकिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकमा विगतका राजनीतिक घटनाको बारेमा समीक्षा भएको र सकारात्मक बनेको उनकाे भनाई छ । 

‘आजको बैठकमा यसअघि अनौपचारिक रुपमा भएका कयौँ छलफलको बारेमा समीक्षा भयो । सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेमै छलफल केन्द्रीत रह्यो । भोलि फेरि १ बजे बैठक बसेर फेरि यसलाई टुङ्ग्याउने छाैँ ।’ विष्टले भने ।

जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि आज औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।